अर्थमन्त्रीसहित तीनजनाले लिए राष्ट्रियसभा सदस्यको सपथ, राष्ट्रपतिलाई भोट भने हाल्न नपाउने

राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा सदस्यमा मनोनीत तीन सदस्यले पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले आज संघीय संसद् भवन, नयाँ बानेश्वरमा सदस्य डा युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौड्याललाई शपथ गराउनुभएको हो । नेपालको संविधानअनुसार ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था छ । यसअघि सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत शपथमा रोक लगाएका कारण यही फागुन २० गते राष्ट्रियसभाका सदस्यको शपथ कार्यक्रममा उहाँहरु उपस्थित हुन पाउनुभएको थिएन । सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले फागुन २३ गते अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने आदेश जारी गरेपछि उहाँहरुलाई शपथ लिन बाटो खुलेको हो । नेपाली काँग्रेसका सभापति शेरबहादुुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिश गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले संयुक्तरुपमा ‘असंवैधानिक रुपमा आफूहरूलाई मनोनीत नगरिएको’ भन्दै राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइ रिट निवेदन दायर गर्नुभएको थियो । सो रिट दायरपछि फागुन १३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासबाट राष्ट्रियसभा सदस्यका लागि मनोनयन भएका डा खतिवडा, विडारी र पौडेललाई माननीय सदस्यका हैसियतको शपथ नगर्न÷नगराउन संघीय संसद् सचिवालय तथा विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो । तत्कालीन प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाको सदस्यमा मनोनयन लागि बस्नेत, पौडेल र जोशीको नाम गत माघ २६ गते सिफारिश गरेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ती नाम फिर्ता लिएर फागुन ८ गते राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि डा खतिवडा, विडारी र डा पौड्यालको नाम सिफारिश गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरुलाई फागुन ८ गते नै राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुभएको थियो । नेपालको संविधानमा सातै प्रदेशबाट आठ÷आठ जनाका दरले निर्वाचित ५६ जना र राष्ट्रपतिबाट मनोनीत तीन जना गरी कूल ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने प्रावधान छ ।
राष्ट्रियसभा सदस्यको शपथ लिए पनि डा खतिवडा, विडारी र डा पौड्यालले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनमा भने मतदान गर्न पाउनुहुने छैन । राष्ट्रपतिको निर्वाचन संघीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा० का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ ।
निर्वाचनको सिलसिलामा निर्वाचन आयोगले फागुन २२ गते मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गरिसकेको छ । उक्त सूचीमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता कायम छन् । सरकारको सिफारिशमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत तीन जना र प्रदेशसभा सदस्य राजीव गुरुङको नाम भने मतदाता नामावलीमा समावेश छैन । तसर्थ आज शपथ लिनुभएका राष्ट्रियसभाका तीन सदस्यले यथाअवस्थामा मतदान गर्न नपाउने आयोगले जनाएको छ । तर सो सम्बन्धमा संघीय संसद् सचिवालयले लिखित जानकारी गराएको खण्डमा आयोग पदाधिकारी बैठकले बाधा अड्काउ फुकाउ सम्बन्धी केही निर्णय गर्नसक्ने अधिकार रहेको आयोगका प्रवक्ता नवराज ढकालले राससलाई जानकारी दिनुभयो ।

(Visited 37 times, 1 visits today)

सम्बन्धित समाचारहरू

मेसी म्याजिक भएको अवस्थामा अर्जेन्टिनाका लागि दोश्रो चरणको ढोका यसरी खुल्नसक्छ
गोल किपरको मुर्खताले अर्जेन्टिना संकटमा, क्रोएसियासँग तीन शून्यले पराजित
माओको देशमा ओली, नेपाल कम्युनिष्ट आन्दोलनबाट विश्वले सिक्नसक्ने प्रधानमन्त्रीको भनाई
मासुका लागि कुकुर मार्ने काम बन्द गर्न कोरियाको अदालति आदेश
नेपाल र अष्ट्रेलियाबीच व्यापार बृद्धि गर्न मेलबर्नमा ‘विजनेस फोरम’ आयोजना हुँदै
अलविदा डा. देवकोटा, गोर्खा धन्य भयो तिम्रो जन्मबाट, नेपाल धन्य भयो तिम्रो कर्मबाट !
असार १४ गते काठमाडौं ओर्लदै नयाँ विमान, थप आठ विमान किन्ने तयारी
प्रधानमन्त्री चीनतर्फ, ६ दिने भ्रमणबाट नेपालीको धेरै अपेक्षा
वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको निधन, मंगलबार विहान ८ बजेदेखी १ बजेसम्म श्रद्धाञ्जली दिइने
विश्वकपको नयाँ मोड, जर्मन मेक्सिकोसँग पराजित, ब्राजिल स्वीट्जरल्याडसँग बराबरीमा
English