आगामी डिसेम्बर १५ तारिखमा मेलबर्नमा नेपाल फेष्टिभल हुँदै, दशौं वर्षगाँठको उल्लास पनि थपिने

अष्ट्रेलियाको मेलबर्नमा आगामी डिसेम्बर १५ तारिख शनिबार “नेपाल फेष्टिभल २०१८” आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलिया भिक्टोरिया राज्य संयोजन परिरिषद्को आयोजनामा हुन लागेको नेपाल फेष्टिभलमा यस वर्षको नारा ‘वन कन्ट्री मेनी स्टोरीज’ रहेको छ । नेपालका विभिन्न संस्कृति, भाषा भेषभूषा, खाना सहितको एकताबद्ध उपस्थिति भिक्टोरियाको बहुसांस्कृतिक समूदायमा गराउने फेष्टिभलको प्रमुख उद्देश्य रहेको छ । यससँगै नेपालको पर्यटन प्रबद्र्धन पनि फेष्टिभलको महत्वपूर्ण पाटो हो । स्थानीय बिग बेली एशियन क्याफेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घाताने, प्रायोजक मध्येबाट एक ईभेन्ट पार्टनर यश स्टडीजका दिपक अग्रवाल, एनआरएन उपाध्यक्ष केशव कँडेल, नेपाल फेष्टिभलका मिडिया संयोजक युगेन्द्र रेग्मीले  पत्रकारहरुको जिज्ञासाको जवाफ दिएका थिए । 
यस पटक मेलबर्नमा सुरु भएको नेपाल फेष्टिभल यात्राको दशौं वर्षगाँठ पनि हो । १२ वर्षअघि सिड्नीबाट सुरु भएको नेपाल फेष्टिभलको यतिबेला विश्वभर विस्तार भइसकेको छ । मेलबर्नको नेपाल फेष्टिभल २०१८ का संयोजक एवं गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष केशव कँडेल भन्नुहुन्छ, “सुरुवातबाट नै मेलबर्नको नेपाल फेष्टिभलले आफुलाई विविधता, उत्कृष्टताको परिचायक बनाउन कुनै कसर बाँकी राखेको छैन । यस पटक दशौं वर्षगाँठको अवसरमा अझ बढी एकताबद्ध, अझ बढी समूदायको सहभागिता र अन्य समूदायसँगको सहकार्यको दायरालाई फराकिलो बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं ।”
कार्यक्रमका मिडिया संयोजक एवं गैरआवासीय नेपाली संघ भिक्टोरियाका उपसंयोजक युगेन्द्र रेग्मीले भन्नुभयो, “जब हामी नेपालको गौरपूर्ण संस्कृतिको कुरा गर्छौं त्यो स्टेजमा देखाइने कुराहरु मात्र हुने छैनन् । पूरै फेडरेशन स्क्वायरलाई नै हामी सानो नेपालमा रुपान्तरण गर्नेछौं । नेपालका हरेक कुरा कुनाका कथालाई कला, गीत, संगीत, नृत्य, भेषभूषा, खाना अनि नेपालीपनको माध्यमबाट भिक्टोरियाका दर्शकहरुसामू पस्कने हाम्रो प्रयत्न छ ।”
नेपाल फेष्टिभल २०१८ लाई सफल तुल्याउन केशव कँडेलको संयोजकत्वमा बनाइएको आयोजक समितिमा नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरे उपसंयोजक रहनुभएको छ । यस्तै भिक्टोरियास्थित अवैतनिक महावाणिज्यदूतको कार्यालयकी निरु त्रिपाठी सचिव हुनुहुन्छ भने प्रेरणा मल्ल सहसचिव तोकिनुभएको छ । भिक्टोरियामा रहेका नेपाली समूदायका सबै संघ संस्थाले यस कार्यलाई सफल तुल्याउन हातेमालो गरेका छन् । नेपाल फेष्टिभललाई सफल तुल्याउन विभिन्न कमिटीहरु गठन गरिएको छ भने यी कमिटीहरुले तयारीलाई तिव्र गतिमा अगाडि बढाएका छन् । सांस्कृतिक गतिविधिका संयोजक प्रेम कँडेलले “भिक्टोरियामा रहेका नेपाली प्रतिभाका साथै नेपालबाट पनि ख्यातिप्राप्त कलाकारहरुले नेपाल फेष्टिभलको स्टेजको रौनक बढाउने बताउनुभयो ।” अहिलेसम्म अभया एण्ड स्टीम व्याण्ड, प्रसिद्ध लोकगायक मिलन लामा आउने निश्चित गरिएको छ । यस पटकको नेपाल फेष्टिभलको व्यवस्थापन सोलाङचरले गर्दैछ भने अडियो भिडियो प्रोडक्सनको काम एमएनटीभी अष्ट्रेलियाले गर्ने भएको छ । विज्ञापन तथा प्रबद्र्धन कमिटीका सुरेन्द्र सेढाईले मेल्बर्न ईन्ष्टिच्युट अफ टेक्नोलोजी, यश स्टडीज, सिटी अफ मेलबर्न ईभेन्ट पार्टनरका रुपमा रहने जानकारी दिनुभयो । “नेपाली विजनेस समूदायले नेपाल फेष्टिभललाई एउटा अवसरको रुपमा लिएर जुन किसिमको सहयोग गर्नुभयो यो निकै उत्साहप्रद छ । प्रायोजकहरुको सहयोग विना नेपाल फेष्टिभल सम्भव छैन । उहाँहरु सबैलाई धेरै धन्यवाद छ ।” सेढाईले भन्नुभयो ।
नेपाल महोत्सव मेलबर्नमा सुरु भएको दशौं वर्षको यो अवसरमा यस पटकको सांस्कृतिक परेडलाई अझ विशेष बनाउने तयारी भएको यसका संयोजक तारा गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार यस पटक एक हजारभन्दा बढीको सहभागितामा मेलबर्नको मुटुमा नेपाली झाँकीहरुको साथ सांस्कृतिक परेडको आयोजना गरिनेछ । यो परेड कार्यक्रमस्थल फेडरेशन स्क्वायरमा पुगेपछि नेपाल फेष्टिभल औपचारिक रुपमा सुरु गरिनेछ । फेडरेशन स्क्वायरमा यस पटक ‘नेपाल भिलेज’ स्थापना गरी नेपालको संस्कृति, परम्परा, रहन सहनको प्रबद्र्धन गर्ने तयारी छ । नेपाल फेष्टिभलको स्टल व्यवस्थापन संयोजक निराजन गौलीका अनुसार १५ वटा व्यवसायिक स्टल र ६ वटा खानाका स्टल रहने निश्चित गरिएको छ । गौलीले भन्नुभयो, “यस पटक हामीले १५ वटा स्टललाई नेपालका विभिन्न पर्यटकीय स्थलहरुको जानकारीसहितको थिममा प्रस्तुत गर्दैछौं । यो नौलो प्रयोग हुनेछ । यसले नेपालका विभिन्न पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिन मद्दत गर्नेछ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा यसलाई मूर्तरुप दिइनेछ ।”
अर्कोतर्फ विदेशी पर्यटकहरुको माझ लोकप्रिय नेपालको ठमेल बजारलाई प्रतिनिधित्व गर्नेगरी त्यस्तै बजार सञ्चालन गरिनेछ । यस्तै फेडरेशन स्क्वायरमा सात वटा नेपाली झण्डा फहराइने क्रमलाई निरन्तरता दिइनेछ । नेपाल फेष्टिभलको स्वयंसेवा संयोजक गौतम लामिछानेले व्यवस्थित रुपमा नेपाल फेष्टिभल सञ्चालन गर्न सयौंको संख्यामा स्वयंसेवक परिचालन गरिने बताउँदै फस्र्ट एड र आकस्मिक उपचार सेवा समेत व्यवस्था गरिएको जानकारी दिनुभयो । “स्वयंसेवकहरुको सहयोगले नै नेपाल फेष्टिभल भव्यताका साथ सम्पन्न गर्न सहयोग पुग्दछ । हामी भिक्टोरियामा बस्ने नेपालीहरुलाई स्वयंसेवकका रुपमा सरिक हुन आह्वान गर्दछौं ।” गौतमले भन्नुभयो । अघिल्लो नेपाल फेष्टिभलमा करिब २० हजारले अवलोकन गरेका थिए भने यस पटक स्थानीय अष्ट्रेलियन दर्शकहरुको संख्यालाई बृद्धि गर्ने योजना एनआरएन भिक्टोरियाले बनाएको छ ।
Watch Press Meet Video here :
https://www.facebook.com/MNTVAustralia/videos/1138853012944797/
(Visited 1,958 times, 1 visits today)

सम्बन्धित समाचारहरू

दुलहीजस्तै सिंगारिए छठ घाट
पत्नी सीताको उपचारका लागि म्याग्दी पुगे प्रचण्ड, तातोनी कुण्डमा विताए दुई घण्टा
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त
बालिका र युवतीमाथि सात युवकले गरे सामूहिक बलात्कार, सातै फरार
छठको तयारी तीव्र
न्याय माग्दै धर्ना, न्याय नपाए प्रशासन कार्यालय अगाडि प्राण त्याग्न तयार
मेलबर्नमा छुरा आक्रमणकारी हुसेन खालिफको पासपोर्ट सन् २०१५ मै रद्द गरिएको खुलासा
शरणार्थीको मामिलामा डोनाल्ड ट्रम्प कठोर, मेक्सिकोतिरबाट आए सिधै आउट
२०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री
भाईटीका लगाउनै नेपाल आइपुग्छन् विदेशी पर्यटक, अन्तरदेशीय सम्बन्ध जोड्दै भाइटीका
English