नेपाली कांग्रेसको चियापान,  १४ औं महाधिवेशनमा कोइराला परिवारबाट सभापतिमा उम्मेदवारी

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टीको आगामी १४ औं महाधिवेशनमा कोइराला परिवारबाट सभापतिमा उम्मेदवारी दिने संकेत गरेका छन् ।
पार्टीले दशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा कार्तिक १६ गते शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘अझै नेपाली राजनीतिमा कोइरालाको लिगेसी आवश्यक छ,’ महामन्त्री शशांकले भने, ‘पार्टी सभापतिमा कोइराला परिवारबाट दाबी रहन्छ । यसबारे हामीबीच सल्लाह र सुझावहरु लिँदैछौं ।’


कार्यक्रममा संवाददाताहरुको जिज्ञासामा प्रतिक्रिया दिँदा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी राजनीतिबारे खासै बोलेनन् । सभापति देउवाले वीपी कोइरालाले सुरु गरेको चियापानलाई निरन्तरता दिँदै आएको प्रसंग जोडेर सबैलाई शुभकामना दिएका थिए । तर कांग्रेसको निम्तो मान्न पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहालले भने कांग्रेसको चियापानको सन्दर्भ, एकता र मेलमिलापको आवश्यकताबारे प्रस्ट्याएका थिए ।
कांग्रेस आन्तरिक संघर्षमा अल्झिएरै प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेकोमा पार्टी नेताप्रति कार्यकर्ताकै असन्तुष्टि छताछुल्ल भइरहेको छ । यस्तै सन्दर्भलाई जोडेर नेकपा नेता झलनाथ खनालले व्यंग्यात्मक शैलीमा भने, ‘प्रतिपक्ष कता हरायो भन्ने लागेको थियो, आज सानेपामा आउँदा भव्यतासाथ चिया खाँदै हुनुहुँदो रहेछ ।’ बल्ल बल्ल कांग्रेससँग भेट हुन पाएको उनले बताए ।
कांग्रेस वरिष्ठ नेता पौडेलले राष्ट्रिय स्थायित्व, स्थिरता र एकता कायम गर्न सत्तापक्षलाई अहिलेजस्तो अनुकूल अवस्था कहिल्यै नआउने भन्दै त्यसको सदुपयोग गर्न आग्रह गरे । सबैतिरबाट परिस्थिति बनेको बेलामा पनि राम्रो विकास नभए भविष्य अन्धकार हुने उनको तर्क थियो ।
चियापान कार्यक्रममा पार्टीका हजारौैं कार्यकर्ता, विभिन्न पार्टीका नेता कार्यकर्ता, विदेशी पाहुनाको सहभागिता रहेको थियो । कांग्रेसको चियापान कार्यक्रम यसअघिका भन्दा निकै व्यवस्थित थियो । पार्टी सभापति र वरिष्ठ नेताले तीन घण्टासम्म उभिएर पाहुनाको स्वागत गरेका थिए ।

(Visited 1,229 times, 1 visits today)

सम्बन्धित समाचारहरू

कांग्रेसभित्र आन्तरिक लोकतन्त्र कमजोर : सिंह
राजनीतिक सहमतिका आधारमा उपसभापति बनेको गच्छदारको दावी, ‘विधानमा खोज्नु गलत’
गगन र विश्वप्रकाशले भने महासमिति बैठकपछि काँग्रेसले नयाँ जीवन्त प्राप्त गर्छ
नेपाली कांग्रेसको चियापान,  १४ औं महाधिवेशनमा कोइराला परिवारबाट सभापतिमा उम्मेदवारी
नेपालमा विकासको युग शुरुवात, आठ/दश वर्षमा ठूलो परिवर्तन : ‘प्रचण्ड’
एकतापछिको पहिलो चियापानमै प्रधानमन्त्री अनुपस्थित, प्रचण्डले भने विकास र सम्बृद्धिको कार्यभार पूरा गरौं
केही घण्टाका लागि प्रचण्ड दिल्लीतर्फ, ईन्डिया फाउन्डेसनको कार्यक्रममा प्रमुख अतिथि
आज पनि नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक, गरमागरम बहस जारी
माधव नेपालले भने, सम्बृद्धिको बाधकलाई कारवाही गरौं
योगेश भट्टराईलाई मन्त्री बनाउने योजनामा प्रचण्ड, यही सरकार ५ वर्ष
English