नेपाल र अष्ट्रेलिया परामर्श बैठक काठमाडौंमा, राजदूतले उठाइन् विद्यार्थीको समस्या

नेपाल र अष्ट्रेलियाबीच निर्माण गरिएको नेपाल अष्ट्रेलिया परामर्श संयन्त्रको पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ । दुई देशीय सहयोग प्रबद्र्धनका लागि पहिलो पटक बनाइएको संयन्त्र बैठक दुई देशकाबीचमा पालैपालो गर्ने सहमति अनुरुप पहिलो पटक काठमाडौंमा गरिएको हो । बैठकमा सहभागी हुन अष्ट्रेलियाबाट परराष्ट्र तथा व्यापार विभागका सहायक सचिव एन्ड्रियु कोलिन्सको नेतृत्वमा एक टोली काठमाडौंमा छ । यो टोलीसँगै नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बड पनि सहभागी छन् । बैठकको सुरुवात गर्दै परराष्ट्र सचिव शंकर दास बैरागीले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध अझ प्रभावकारी बनाउन अपनाउन सकिने रणनीतिका सम्बन्धमा आफ्नो विचार राखेका थिए । उनले नेपाल सरकारको वर्तमान परराष्ट्र नीति तथा विकासका प्राथमिकताहरूबारे समेत प्रकाश पारेका थिए ।
अष्ट्रेलियाको परराष्ट्र तथा व्यापार विभागका सहायक सचिव एवं अष्ट्रेलियन टोलीका प्रमुख एन्ड्रियु कोलिन्सले नेपाल र अष्ट्रेलियाबीच लामो समय देखि अत्यन्त राम्रो सम्बन्ध रहीआएको भन्दै अष्ट्रेलिया नेपालको विकासमा सहयोग गर्न तत्पर रहेको जानकारी दिनुभयो । त्यस्तै नेपाल र अष्ट्रेलियाले एक अर्कालाई विभिन्न अन्तराष्ट्रिय फोरममा समेत सहयोग गरीरहेको समेत उल्लेख गर्नुभयो । बैठकमा अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले उच्च शिक्षा अध्ययनका लागि आर्कषक गन्तव्यका रूपमा रहेको अष्ट्रेलियामा नेपाली विधार्थीहरूले भोग्नुपरेका केही समस्या एवं चुनौती उल्लेख गर्दै सोको समाधानका लागि अष्ट्रेलिया सरकारको तर्फबाट अष्ट्रेलिया पढ्न जान चाहने नेपाली विधार्थीहरूका लागि काठमाडौंमा विधार्थी परामर्श र सूचना केन्द्रको स्थापना गर्न आग्रह गरेकी थिइन् । त्यस्तै अष्ट्रेलियामा नेपालीको संख्या दिनानुदिन बढिरहेको सन्दर्भमा भीसा प्रक्रियालाई सहज, सरल बनाउन एवं काठमाडौंमा रहेको अष्ट्रेलियन दूतावासले नै भीसा दिने व्यवस्था गर्न समेत आग्रह गरेकी थिइन् । नेपालका लागि अष्टेलियाका राजदूत पिटर बडले काठमाडौंबाट नै भिसा उपलब्ध गराउने सम्बन्धमा अष्टेलिया सरकारका सम्बन्धित निकायसंग सहकार्य गरी ठोस कार्ययोजना ल्याउने जानकारी दिनुभयो ।
उक्त अवसरमा दुई देशका प्रतिनिधीमण्डलबीच नेपाल अष्ट्रेलिया सम्बन्धलाई अझ प्रगाढ र प्रभावकारी बनाउन द्विपक्षीय महत्वका विषयहरूमा विस्तृत रूपमा छलफल भएको क्यानबेरास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार उच्चस्तरीय भ्रमण आदानप्रदानमा बृद्धि गर्ने र व्यापार, लगानी, पर्यटन, मानवसंशाधन विकास, उर्जा, संचार र शिक्षा जस्ता क्षेत्रमा एकअर्काबीच सहयोग एवं सहकार्य अभिवृद्वि गर्ने सम्बन्धमा छलफल भएको थियो ।
सन् २०२० मा नेपाल र अष्ट्रेलियाबीच दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष पुग्ने भएकाले ६० औं बर्षगाठका अवसरमा दुवै देशले विभिन्न कार्यक्रम आयोजना गर्नुका साथै अष्ट्रेलियाको तर्फबाट अहिलेसम्म नेपालमा उच्च स्तरीय भ्रमण हुन नसकेकोले सन्दर्भमा द्विपक्षीय सम्बध बिस्तार र मजबुत बनाउन अष्ट्रेलिया सरकारका तर्फबाट उच्चस्तरीय भ्रमण गराउन पहल गर्ने पनि छलफल भएको छ । उक्त बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव एवं अष्ट्रेलिया महाशाखाका तापस अधिकारीले गरेका थिए ।

(Visited 1,909 times, 1 visits today)

सम्बन्धित समाचारहरू

दुलहीजस्तै सिंगारिए छठ घाट
पत्नी सीताको उपचारका लागि म्याग्दी पुगे प्रचण्ड, तातोनी कुण्डमा विताए दुई घण्टा
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त
बालिका र युवतीमाथि सात युवकले गरे सामूहिक बलात्कार, सातै फरार
छठको तयारी तीव्र
न्याय माग्दै धर्ना, न्याय नपाए प्रशासन कार्यालय अगाडि प्राण त्याग्न तयार
मेलबर्नमा छुरा आक्रमणकारी हुसेन खालिफको पासपोर्ट सन् २०१५ मै रद्द गरिएको खुलासा
शरणार्थीको मामिलामा डोनाल्ड ट्रम्प कठोर, मेक्सिकोतिरबाट आए सिधै आउट
२०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री
भाईटीका लगाउनै नेपाल आइपुग्छन् विदेशी पर्यटक, अन्तरदेशीय सम्बन्ध जोड्दै भाइटीका
English